काठमाडौँ । डकुमेन्ट्री फिल्म ‘रित्तो गाउँ’को गीत ‘बोल्ने कोही छैन’को गीत सार्वजनिक भएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा फिल्मका दृश्यहरू राखिएका छन् । गीतमार्फत फिल्मको कथा समेत बुझाउन खाेजिएको छ । गायक शिशिर योगीको स्वर रहेको गीतमा अर्जुन पराजुलीको शब्द, विवी अनुरागीको एरेन्ज छ ।
विभिन्न फिल्म फेस्टिवल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ले युवा पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गर्छ ।
आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माताका रूपमा छन् । नीरज कँडेलको छायाङ्कन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कँडेलको रहेको छ ।