काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका हुन् । ‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने बताए । चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने उनले बताए ।नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो । साथै उनले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको जिकिर गरे ।
यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको उनले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए । नेपालमा हुन लागिएको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भित्र्याउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए ।