काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन्।
उनले आगामी संसद अधिवेशनमा पेस गर्ने गरी सरकारले चलचित्रसम्बन्धी ऐनको तयारी गरिरहेको पनि बताइन्। उनले नेपाली चलचित्रलाई राम्रो बनाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताइन्। उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् ।उले भनिन्, ‘चलचित्रसम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानून मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ। त्यो स्वीकृति भएर आउने क्रम जारी छ। त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन सुरु हुन्छ। संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्रसम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ।’