काठमाडौं । यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतले छ ।
जेठ १८ गतेदेखि असोज १३ गतेसम्म कोशी प्रदेशका मध्य तथा उत्तर पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना छ ।
देशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भूभाग ९कैलाली,कञ्चनपुर, बैतडी र बझाङ० , कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
यस्तै अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी तथा मध्य भूभाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
न्यूनतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका मध्ये भूभाग, कर्णाली प्रदेशका मध्ये पश्चिम भूभाग, गण्डकी प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । मौसमविद् इन्दिरा कँडेलका अनुसार आगामी मनसुनको प्रक्षेपण विभिन्न सामुन्द्रिक,वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय प्रणालीमा निर्भर रहेर गरिएको हो ।