जेठ २२ – पहाडी क्षेत्रमा भन्दा तराईको तापक्रम उच्च छ। दिनको चर्को घामको असर सबैभन्दा बढी तराई मधेस क्षेत्रमा परेको छ। त्यसैले, ती क्षेत्रमा ‘लु’को खतरा उच्च छ। अस्पतालमा बिरामी बढेका छन्। गर्मीले मजदुरी गर्नेलाई सास्ती छ। भैरहवामा दिउँसो सडकमा मानिसको हिँड्डुल पातलिएको छ। जनजीवन अस्तव्यस्त बनेको छ। गर्मी बढेसँगै खर्बुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थहरूको व्यापार फस्टाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस छ। न्यूनतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ।
दैनिक मजदुरी गरेर खानेहरूका लागि गर्मीयाम कष्टकर बन्न पुगेको छ। प्रायः युवा–युवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानहरूमा पुग्ने गरेका छन्। अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्यामा वृद्धि भएको विभिन्न अस्पतालहरूले जनाएका छन्। गर्मी मौसमसँगै हावाहुरी र धुलो, सडक पेटी तथा फुतपाथको खाजा नास्ताको बढ्दो प्रयोग र फोहोर पानीका कारण विरामीहरूको संख्या बढ्दै गएको भीम अस्पताल भैरहवाका चिक्तिसक डा. आरिफ हुसैनले बताए।


























