धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो ।
मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नागरिक उन्मुक्ती चिढिएको छ। नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले बताउदै आएको छ ।
पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले सहमति कार्यान्वयन नभएकाले सरकारमा सहभागी नभएको बताए। मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने पक्षमा छन् । सो पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ ।