काठमाडाैं । आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालका आदिवासी जनजातिले सन् १९९३ देखि प्रत्येक वर्ष अगस्ट ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।
दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासंघले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।
सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ ।