काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा विगतका धेरै भ्रष्टाचार काण्ड सामसुम पारिएको हुँदा आम नागरिकका मनमा यो मुद्दा पनि कमजोर पार्ने षड्यन्त्रको आशंका उब्जिएको भन्दै सरकारलाई सचेत गराइएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपछि दोषी नउम्कने र निर्दोष नफस्नेगरी अनुसन्धान भइरहेको बताए ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे सहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here