काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रभावमा परेर चोइटिएर गएकाहरूबाट पार्टीलाई कुनै असर नपरेको बताएका छन् । राष्ट्रिय एकता महाधिवेशन सकिए लगत्तै जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनले जसपासँग जनसमर्थन रहेको प्रमाणित गरिसकेको छ, किनकि त्यहाँ विशाल सहभागिता थियो । भव्यताका साथ उद्घाटन सत्र पनि सम्पन्न भयो, प्रमाणित भयो जसपासँग जनसमर्थन घटेको छैन ।’ महाधिवेशनले बाँकी नेतृत्व छनोट गर्न दिएको जिम्मेवारी काठमाडौँ पुगेपछि टुङ्गो लगाउने उनले बताए । यादवले महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद दिए ।
अध्यक्ष यादवले महाधिवेशन पूर्ण रुपमा सफल भएको तर्क समेत गरे । महाधिवेशनले जसपासँग जनता र जनतासँग जसपा रहेको सन्देश दिएको उनले बताए ।