काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अत्यधिक वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ। स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा अति भारी वर्षा भएको महाशाखाले जनाएको हो।

महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ। ​मंगलबार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तै देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा पनि गएराति देखि नै वर्षा भइरहेको छ।

बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here