काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई संसदवादी यथास्थिति पार्टी भएको आरोप लगाएका छन् । कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेस गरेको राजनीतिक दस्ताबेजमा वैद्यले यी दुई कम्युनिस्ट पार्टीलाई संसदवादी यथास्थितिवादी राजनीति दल भएको आरोप लगाएका हुन् ।
‘दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टीहरू नेपालमा एकातिर दक्षिणपन्थी संशोधनवाद र अर्कोतिर संसदीय यथास्थितिवादलाई शिरोधार्य गर्ने कतिपय राजनीतिक पार्टीहरू पनि अस्तित्वशील रहिआएका छन् । यस प्रकारका पार्टीहरूमा मूलतः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरू पर्दछन् ।
रूपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी, एमाले तथा एसले मार्क्सवाद–लेनिनवाद एवम् माओवादीले मार्क्सवाद–लेनिनवाद–माओवाद र समाजवादको पक्षधर बताए पनि सारमा यी क्रान्तिकारी कम्युनिस्ट पार्टी, मार्क्सवाद लेनिनवाद–माओवादसहित समय कम्युनिस्ट विचारधारा र वैज्ञानिक समाजवादकाविरुद्ध उभिएका छन्’, वैद्यको दस्ताबेजमा उल्लेख छ ।
यी पार्टी एकातिर वर्गीय रूपमा दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तवादी राज्यसत्ता र अर्कोतिर राजनीतिक रूपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर एवम् रक्षा कवच बनेर प्रस्तुत हुँदै आएका उल्लेख गरेका छन्।
यी सबै वर्ग समन्वयवाद, बहुलवाद, सारसंग्रहवाद तथा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धात्मक मान्यता अवलम्बन गरेर पश्चगामी वर्ग, राज्यसत्ता तथा व्यवस्थाको रूपमा आफूलाई देखाएर साम्राज्यवाद, विस्तारवादद्वारा नेपाली जनता तथा नेपालका विरुद्ध लादिएका असमान सन्धि, सम्झौता, विभिन्न ढङ्गका शोषण उत्पीडनलाई यथावत् स्वीकार गरेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराएको उनको आरोप छ ।
नवउदारवादी आर्थिक नीतिको समर्थन तथा कार्यान्वयन गरेर स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसामु आत्मसमर्पण गरिसकेको छन् र स्वयम् नव कुलीन वर्ग तथा नव प्रतिक्रियावादी शक्तिका रूपमा प्रकट भइरहेका वैद्यले चित्रण गरेका छन् ।