हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।

फोहरबाट विद्युत्, मेथन सिएनजी ग्यास, हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधि विकास गर्ने जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक सहयोगमा हेटौँडामा यामतो युडब्लुएस नामक उपकरण उत्पादन गरी जापानी उद्योगी व्यवसायीको माग अनुसार जापान निर्यात गरेको यामतो इन्टरनेसनल प्रालिले जनाएको छ । कार्यक्रममा जापानी वैज्ञानिक यामाजी मासामुरालगायतको उपस्थिति थियो । कम्पनीले यसअघि जापानिज कम्पनीसँगको सहकार्यमा पाइरोलाइसिस प्रविधिबाट सबै किसिमका फोहोर व्यवस्थापन गर्ने उपकरण बनाएर जापान निर्यात गर्दै आएको थियो ।

हाल निर्यात भएकोसहित कुहिने फोहोरबाट मल बनाउने र फोहोरलाई ऊर्जामा परिणत गर्ने १० उपकरण तयारी अवस्थामा छन् । उक्त निर्यात हुने मेसिन उपकरणको मूल्य एक सेटको साढे तीन लाख डलर पर्ने छ । यसअघि कम्पनीले दुई वटा वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी उपकरण निर्यात गरेको थियो । ती उपकरण एक सेटको साढे दुई करोड रुपियाँमा बिक्री गरेको कम्पनीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here