काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन्। प्रदेश योजना आयोगको आयोजनामा शुक्रबार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्।
‘अब सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीबाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्छ,’ उनले भने,’हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौँ। स्रोत परिचालन भयो भने त्यसका उपलब्धि देखिनुपर्छ।’मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस् भन्ने लक्ष्यमा रहेको बताए। ‘आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ। लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘त्यो उपयोगी र काम लाग्ने हुनुपर्छ।’
योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष डा. केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए।कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए।


























