काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन्। शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए।

उनले युवाहरुलाई मुलुकभित्र अवसर नै अवसर रहेको उल्लेख गरे। उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए।उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए। उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।उनले नेपालभित्रै केही गर्न सकिन्छ भन्ने हिसाबमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताए। उनले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियतसमेत दिएको बताए।

नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको उनको भनाइ थियो। उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए।‘अहिले नेपालमा केही काम छैन, विदेशमा मात्रै छ भन्ने नकारात्मक माइन सेनमा प्रचार भइरहेको छ। युवाहरुको सपना पूरा गर्ने अवसरहरु नेपालमा नै छ। सुक्ष्मदृष्टिले हेर्न आवश्यक छ। दृष्टिकोण नै बाहिर जाने राखेर हेर्नु भएन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here