काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेकाे हाे ।
बुधबार पार्टीका उपसभापति डाेलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै राजनितिक दलसम्बन्धि ऐन २०७३ काे दफा १८ पार्टीकाे नियम ५,२ र परिच्छेद ७ काे नियम १४ बमाेजिम केन्द्रीय अनुशासन आयोगकाे सिफारिस बमाेजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ताबाट तत्काल लागू हुनेगरी सात दिनका लागि निलम्बन गरिएकाे जानकारी गराए ।
बुधबारको बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ह्यारेसमेन्ट गरिएको भन्दै बैठकको बिचबाटै बाहिरिएका थिए ।
बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् ।
गत बैशाखमा भएको उपनिर्वाचनमा इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको अवस्थाबारे बुझ्ने सचिवालयको निर्णयअनुसार जेठ ६ गते समीक्षा यात्रामा निस्केका ढकालले एक महिनापछि फर्केर असार १२ गते प्रतिवेदन बुझाएका थिए ।
सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनुअघि यसका केही अंश मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने कुरा पार्टीमा उठेको थियो ।
वर्तमान अवस्थामा रास्वपाको जनमत अत्यन्तै नाजुक रहेको र यही अवस्था रहे आगामी आम निर्वाचनमा एक, दुई सिटभन्दा नजित्ने निचोड उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा प्रयोग गरिएका भाषा र उनका पछिल्ला गतिविधि दुवै बदनियतपूर्ण रहेको भन्दै पार्टीभित्र उनी शंकाको घेरामा परेका थिए । यसअघि सभापति लामिछानेका विश्वासपात्र बनेर काम गरेका ढकाल इलाम- २ को चुनावपछि पार्टी नेतृत्वसँग चिढिँदै गएका थिए ।