काठमाडौँ । सर्लाही प्रहरीले अमेरिकन पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
सोमबार राति करिब पौने ९ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बरहथवाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले बरहथवा नगरपालिका ६ मगर टोलमा शंकाको आधारमा चेकजाँच गर्दा जितेन्द्रले आफ्नो साथमा रहेको ९ एमएम अटो पिस्टल मेड इन युएसए लेखिएको पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार प्रहरीले दुबैजनालाई पेस्तोल, त्यसको म्याग्जिन १ थान, गोली ६ राउण्ड र फायर भएको खोका १ थानसहित नियन्त्रणमा लिई इलाकामा ल्याई थप अनुसन्धानका लागि जिल्ला प्रहरीमा ल्याउँदै गरेको अवस्थामा बसबरिया गाउँपालिका ६ पोखरीयाबाट ७ सय मिटर अगाडि मलंगवातर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिइएको हो। प्रहरीले चाइनिज पेस्तोल टाइप ५४ बाट ५ राउण्ड फायर गर्दा जितेन्द्रको बाँया घुडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको र प्रादेशिक अस्पताल मलंगवामा उपचार पश्चात थप उपचारको लागि जनकपुरधाममा रिफर गरिएको प्रवक्ता थारुले जानकारी दिए । घाइते जितेन्द्रको अवस्था मध्यम रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।