विराटनगर । विराटनगर नागरिक अभियान समूहले विराटनगर महानगरपालिकाको सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्बन्धित विषयमा ४२ बुँदे ध्यानाकर्षण तथा सुझाव–पत्र पेस गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत युवा, महिला, विद्यार्थी, वुद्धिजीवी, व्यावसायिक, व्यापारिक र सामाजिक अभियन्ताको भेलाले सुशासन, न्याय, सेवा प्रवाह, जनजीविकाको सवालमा छलफल गरी सो सुझावपत्र पेस गरेको हो ।

‘विराटनगरको बृहत्तर विकासलाई मध्यनजर गरी नागरिकको दैनिक व्यावहारिक समस्या टार्न तत्काल गर्नुपर्ने र रणनैतिक महत्त्व बोकेका दीर्घकालीन कार्यक्रम तथा योजनामार्फत आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा बृहत्तर विकास सम्भव तुल्याउँदै महानगरवासीको जीवनस्तर उकास्न भूमिका रहोस् भन्ने उद्देश्यले यो ध्यानाकर्षण तथा सुझाव–पत्र पेस गरेका छौँ,’ नागरिक अभियान समूहका अभियन्ता वसन्त अधिकारीले भने ।

उक्त सुझावपत्रमा महानगरपालिका र वडाका नागरिक बडापत्रसम्बन्धी निर्देशिका, २०६९ बमोजिम व्यवस्थित गर्नुपर्ने, सूचना सङ्कलन, भण्डारण र प्रवाहलाई छिटोछरितो र सहज गर्न आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग र त्यस अनुरुपको संरचना बनाउनु पर्ने भनिएको छ ।

यस्तै, सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउनुपर्ने, जनस्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने सडकछेउमा खुल्ला बिक्री वितरण भइरहेको अस्वस्थकर खाना, खाजाको बिक्रीवितरणमा रोक लगाउन उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण र बिक्री–वितरण स्थलमा सरसफाइको कमीलाई कडाइका साथ नियमन, जरिवाना र प्रोत्साहनको विधि मार्फत खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर नियमन गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here