काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने भएको छ । जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले समर्थन नगर्ने घोषणा गरेका हुन् । उनले सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार अनुदार भएको गुनासो गरे ।
‘सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध छ,’ उनले भने, ‘हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ । संसदमा सबैले विपक्षमा मतदान गर्छौं । हाम्रा सबै सदस्यलाई लागू हुन्छ ।’ उनले नेपाल समाजवादी पार्टी (नेसपा) संसद्को घेराबाहिर भएपनि माओवादीबाट निर्वाचित भएकाले फडिन्द् देवकोटाले पनि विपक्षमा मत दिने सुनाए ।
उनले संविधानमाथिको अलमल सर्वोच्चले फुकाउन नसकेको गुनासो गरे । ‘संविधानमा अलमल रहेछ । एउटा गाँठो फुक्ला भन्ने लागेको थियो । सभामुखलाई निर्णायक मत दिन पाउने अधिकार छ । तर निर्णायक कहिले हुन्छ ?,’ उनले प्रश्न गरे, ‘गण्डकीमा बराबर कहिल्यै हुँदैन । सभामुखले हेर्दा सरकार र संसद् ढलिराखेको देखिने भो । सर्वोच्चले बाटो खोल्नुपर्थ्यो ।’