काठमाडौँ – आसन्न वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । उपनिर्वाचनका लागि १८ वटा दलहरू दर्ता भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको हो
सोही दफाको उपदफा (७) बमोजिम उप–निर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय समेत आयोगबाट गरिएको छ ।
त्यस्तै नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने र दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत आयोगबाट भएको छ ।


























