काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम दिने अफर उपलब्ध गराउने भएको छ । कम्पनीले ३ महिनासम्म देशभरका कार्यालयहरुबाट उपलब्ध हुने यो अफर २४ गतेदेखि लागू हुने गरी बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराउने भएको हो ।
सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध गर्ने विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु.१० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्ने कम्पनीले जनाएको छ ।
एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यसअनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने कम्पनीले बताएको हो ।