काठमाडौं । नेपालमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको हो ।
स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुरार्ष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण भएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन गरेका हुन् ।
कारखानामा ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन उत्पादन हुने बताइएको छ । त्यस्तै कारखानामा हाल एक सय बढीले रोजगारी पाएको र पूर्ण क्षमतामा टिभी उत्पादन हुने अवस्थामा एक हजार बढीले रोजगारी पाउने कम्पनीले जनाएको छ । सो अवसरमा बोल्दै सामसङ साउथइस्ट एसियाका सीईओ जेबी पार्कले स्थानीय उद्योगलाई सशक्त बनाउन र रोजगारी सिर्जना गर्न कारखाना स्थापना गरिएको बताए ।