काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्। फागुन २५ गते पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि पौडेल सम्पूर्ण रूपमा नेपाली कांग्रेससँग अलग हुनुपर्ने उनको भनाइ छ।

‘रामचन्द्र पौडेल कांग्रेसको भए पनि सबैको साझा उम्मेदवार हो, राष्ट्रपति निर्वाचित भएपछि उहाँ देशको राष्ट्र प्रमुख हुनुहुन्छ,’ बागमती प्रदेश सभा सदस्यहरूसँग आज काठमाडौंमा भएको अभिमुखीकरणमा बोल्दै महामन्त्री थापाले भने, ‘नागरिकहरू सबैले राष्ट्रपति हो भन्ने भूमिकामा पौडेलले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ।’

उनले फागुन २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मतदान हुने पनि बताए। मतदानका लागि मतदाता (संघीय र प्रदेश सभा सदस्यले) मतदाता परिचय पत्र, नागरिकता वा गत मंसिरमा निर्वाचित भएको प्रमाण पत्र लिएर जानुपर्ने पनि थापाले बताए।

‘यसपटक हामी हस्ताक्षर गर्दैनौं। हरियो चिन्ह संघको, रातो चिन्ह प्रदेशको। २ जना राष्ट्रपति उम्मेदवारको फोटो भएको मतपत्रमा माथि रामचन्द्र पौडेलको नाम छ। तल सुवास नेम्वङको नाम छ। फोटो भएको ठाउँमा खाली कोठामा स्वस्तिक चिन्ह छाप लगाउने हो। सजिलो छ,’ थापाले भने, ‘यस्तोमा पनि सांसदको भोट बदर भयो भने लाज नै हुन्छ। बदर भयो भने कसलाई भन्न जाने?’

उनले भोट क्रस नहुने पनि बताएका थिए। ‘भोट तलमाथि हुन्छ भन्ने लाग्दैन। मतभार हिसाब भइहाल्छ। चुनावसम्म छलफल हुन्छ। दलहरूबाट निर्णय हुन्छ। पहिले नै हामीलाई रिजल्ट थाहा हुन्छ, तलमाथि भए लज्जा हुन्छ,’ उनले भने। राष्ट्रपति निर्वाचित हुनेले उक्त संस्थाको गरिमा बचाउनुपर्ने पनि बताए।

राष्ट्रपति निर्वाचित गरेपछि दलहरू उपराष्ट्रपति निर्वाचन तयारीमा जुट्ने र त्यसपछि मात्रै संघदेखि प्रदेशसम्मका सरकारबारे छलफल हुने थापाले बताए। उनले राष्ट्रपतिमा पौडेल निर्वाचित हुने पनि दाबी गरेका छन्। ‘राष्ट्रपति हाम्रो भोटले रामचन्द्र पौडेल जित्नुहुन्छ, दायाँबायाँ हुन्न,’ उनले भने, ‘नेकपा एमालेका साथीहरू केही दिनदेखि घरदैलो गरिरहनुभएको छ, केही छैन खुट्टा तन्किन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here