सिड्नी । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ ।

दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

दीक्षाले केहीअघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् ।

नव विवाहित पत्नीको निधनले ज्वाइँ निकै दुखित भएको दीक्षाका दाजुले द डेली टेलिग्राफलाई बताएका छन् । यो घटनाको दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो । सो फोन एक पुरुषले उठाएका थिए भने फोन उठाउने व्यक्ति लबिन्द्र भएको ठानिएको छ ।

फोन दीक्षाले किन गरेको भन्ने खुलेको छैन । तर त्यसको केही समयमा एक जना प्रत्यक्षदर्शीले अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि मद्दतका लागि ट्रिपल जिरोमा फोन गरेका थिए । फोन गरेको एक मिनेटमै प्रहरी पुगे । तर उनीहरू आउँदासम्म दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् ।

प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ। झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले पनि घटनालाई हेरिएको छ ।

यसअघि मध्य डिसेम्बरमा भने श्रीमान–श्रीमतिबिच झगडा भएपछि प्रहरी दीक्षा र लबिन्द्रको अपार्टमेन्टमा पुगेको थियो । अहिलेसम्म यस घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here