न्यु जर्सी । अमेरिकामा एकपछि अर्को विमान दुर्घटनाका खबर आइरहेका छन् । यसैबिच, शनिवार एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । शनिवार नेवार्क विमानस्थलबाट उडान भरेको केही समयपछि नै फेडेक्स विमानले आपत्कालीन अवतरण गर्यो ।
विमानमा चरा ठोक्किएपछि इन्जिनमा लागेको आगो अनि आपत्कालीन अवतरण गर्नुपरेको बताइएको छ । न्युयोर्क र न्यु जर्सीको पोर्ट अथोरिटी र फेडेक्सका अनुसार चरा ठोक्किएपछि विमानको दायाँ इन्जिनमा अचानक आगो लागेको थियो ।
सामाजिक सञ्जालमा यस घटनाको दृश्य भाइरल भइरहेका छ । यसमा स्थानीय समयअनुसार शनिवार बिहान ८ बजे दायाँ इन्जिनबाट आगो निस्किएपछि बोइङ ७६७–३एस २ एफ ट्र्याकमा फर्किरहेको देखिन्छ । विमान अवतरण हुने बित्तिकै पोर्ट अथोरिटीका दुईवटा दमकल आइपुगे र आगो निभाउन थाले ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ । उडान तथ्याङ्कअनुसार विमान उडान भरेको नौ मिनेट पछि बिहान ८ः ०७ बजे अवतरण गर्न बाध्य भएको थियो ।
यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ । सावधानीको रूपमा केही समयका लागि हवाई यातायात रोकिएको थियो । यद्यपि, चाँडै नै विमानस्थल सञ्चालनमा ल्याइयो । बिहान ९ः ३० बजे विमानलाई इन्डियाना उडानको लागि अनुमति दिइएको थियो ।
नेवार्कबाट इन्डियानापोलिसका लागि उडेको फ्लाइट ३६०९ मा उडान भर्ने क्रममा चरा ठोक्किएको फेडेक्सका एक प्रतिनिधिले भने । अमेरिकामा एकपछि अर्को गर्दै विमान दुर्घटनाहरू भइरहँदा यो खबर आएको हो ।