काठमाडौँ । चलचित्र पत्रकार संघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ । सङ्घको चितवनमा सम्पन्न पाँचौँ पूर्ण बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको हो ।
शुक्रबार सुरु भएको बैठक घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।
बैठकमा संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय, सल्लाकार डब्बु क्षत्री, अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायत देशभरका शाखाहरूका अध्यक्ष लगायत प्रतिनिधिको सहभागिता थियो । बैठकले महत्त्वपूर्ण विषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ ।
सो अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । सो सम्मान र पुरस्कारका लागि संघले पाँचौँ पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले सङ्घको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयक अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू ६ महिनाभित्र बोर्डमा रहेर केही न केही देखाउने गरी काम गरिरहेको बताए ।