धनगढी । कैलालीको टीकापुर नगरपालिकाका उप्रप्रमुख खडक बहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा दोषी देखिएका छन् । विशेष अदालत काठमाडौँले सो जग्गा प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै शाहसहितलाई कैद र जरिवाना भराउने फैसला गरेको छ ।

विशेष अदालतले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैरकानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ ।

यो फैसलासँगै उपप्रमुख शाहको पद धरापमा परेको छ । उनको निलम्बन जारी रहनेछ । कानुन व्यवसायीहरूका अनुसार अदालतको फैसलाको पूर्णपाठ आएपछि उपप्रमुख शाहले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । सर्वोच्चले पनि दोषी ठहर गरेमा उनी पदमुक्त हुनेछन् । तर सफाइ पाएको अवस्थामा भने उनको पद जोगिनेछ ।

बिहीबार टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद जैसीसमेत २४९ जना प्रतिवादी भएको मुद्दाको फैसला गरेको हो ।

अदालतले टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जैसी र सो समितिबाट गठित गणेशसिंह रावल संयोजक भएको उपसमितिले बदनियतपूर्वक किर्ते प्रमाण राखी आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखा गर्न सिफारिस गरेको र मालपोत नापीले गम्भीरतापूर्वक छानबिन नगरी बदनियत राखी, कृत्रिम प्रमाण भएकालाई दाखा गर्न भूमिका निर्वाह गरेको ठह¥याएको छ । समितिमा रहेका व्यक्तिले आफ्ना नजिकका मानिसहरूलाई विकास समितिको जग्गा वितरण गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) ज र दफा २२ र दफा २४ बमोजिम कसुर ठहर भएको अदालतले फैसलामा उल्लेख गरेको छ । घडेरी प्रमाणित पत्र, घडेरी प्लटको असुली पुर्जी रसिदमा भएको अङ्क, अक्षर, छापलाई विशेषज्ञले गरेको परीक्षणमा नक्कली प्रमाणित भएको पनि जनाइएको छ ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जैसी, उपसमितिका संयोजक गणेशसिंह रावल, सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडबहादुर शाह, सदस्यसचिव अम्बादत्त जोशी, योजना प्रमुख बलबहादुर खडायत, नापी अधिकृत मानबहादुर चन्द, मालपोत अधिकृत जयबहादुर विष्टलाई मुख्य कसुरदारका रूपमा अदालतले ठहर गरेको छ । अध्यक्ष जोशी र संयोजक रावललाई जनही एक वर्ष ६ महिना कैद र १३ लाख ७ हजार ३०० रुपैयाँ ४५ पैसा जरिवाना र अध्यक्ष जैसीलाई थप तीन महिना कैद सजाय सुनाएको छ ।

अन्य प्रतिवादी श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर खडायत, मानबहादुर चन्द, जयबहादुर विष्टलाई जनही तीन महिना कैद र १३ लाख ७ हजार ३०० रुपैयाँ ४५ पैसा जरिवाना हुने सजाय सुनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here