काठमाडौँ । सुगरको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाउँदै लुटपाट गर्ने कार्यमा संलग्न एक नक्कली डाक्टरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई डाक्टर आलोक भनेर चिनाउने जितेन्द्र मण्डल रहेका छन् ।

महोत्तरीको जलेश्वरका उनले पीडितलाई सुरुमा सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर भएको भन्दै विश्वासमा पारेको खुलेको छ । त्यसपछि मण्डल सुगर रोगीको उपचार गर्ने बहानामा पीडितको ललितपुरस्थित घरमा पुगेका थिए भने सो क्रममा औषधि खुवाएर बेहोस बनाउँदै कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरु लुटपाट गरेको प्रहरीले जनाएको छ ।

यसम्बन्धमा परेको उजुरीपछि उनलाई नुवाकोटबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार जनाएको छ ।

मण्डलले सुनका सिक्री, औँठी, झुम्का, टप, मंगलसुत्र र नगद तीन लाख समेत चोरी गरेको कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

केही अघि भएको उक्त घटनाबारे उजुरी परेसँगै वारदात स्थलको सीसीटीभी फुटेजमा देखा परेका व्यक्तिको काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं खोजतलास सुरु गरेको थियो । जसअनुसार उनी नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित आरुखर्क पुगेको खुलेसँगै त्यहीँबाट उनलाई पक्राउ गर्न सकिएको आचार्यले बताए । उनी यसअघि पनि वृद्धवृद्धा तथा सोझासिधालाई झुक्यानमा पारेर लुटपाटमा संलग्न रहेको खुल्न आएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

जितेन्द्रलाई अहिले चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here