काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो ।
तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ । श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो ।
प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२।५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ । तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन । फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार डेडिकेटेड फिडर प्यानलै जलेकाले त्यहाँ वैकल्पिक व्यवस्था गर्न सकिएको थिएन । बाँकी सबै फिडरमा इनकमिङ प्राधिकरणले केन्द्रको संवेदनशीललाई हेरेर भविष्यमा सो केन्द्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नआउने गरी वैकल्पिक प्रणाली पनि बुधबारदेखि नै जडान थालिने सिलवालले जानकारी दिनुभयो ।
राजधानीलगायत मुलुकका विभिन्न भागमा विद्युत् माग बढ्ने तर स्थानीयस्तरमा ट्रान्सफर्मर जडानदेखि वितरण लाइन तथा प्रसारण लाइनसमेत समयमै बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली पछिल्लो समय चापमा पर्दै आएको छ ।