म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् ।

जलविद्युत् आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले स्थानीय राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत् आयोजनालाई गाउँपालिकाको सामूहिक मागका रुपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो ।

आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि आइतबार गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय भेला गरेर आयोजनाहरुले पालिकामा गर्नैपर्ने न्यूनतम माग तयार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाका प्रमुखलाई आगामी चैत १ गते गाउँपालिकामा हुने जलविद्युत्सम्बन्धी बृहत् छलफलमा पालिकाले निर्धारण गरेका मागलाई लिखित सहमति गर्ने तयारीसहित आउन पत्राचार गरिएको छ ।

यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रस्तावित जलविद्युत् आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको भौतिक, जैविक, रासायनिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक वातावरणमा पर्ने असर तथा ती असरलाई न्यूनीकरण गर्न निश्चित बजेट नै विनियोजन हुने भए पनि आयोजनाहरुले आफूखुसी उक्त रकम खर्चन थालेपछि जनप्रतिनिधि र स्थानीयले विरोध जनाएका हुन् ।

जलविद्युत् आयोजनाले गत वर्ष गाउँपालिकासँग आफ्नो आयोजना क्षेत्रको पहुँचमार्गसम्मको सडकलाई ग्राभेल गरी स्तरोन्नति गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नगरेको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here