काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् । आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी ९ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे ।

मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग समेत गरेका छन् । मह आयात भैरहेको भन्दै किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग राखेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here