काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको बताएका छन् । नयाँ समीकरणको सरकारलाई शुभकामना व्यक्त गर्दै उनले अब देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने उल्लेख गरेका छन्। नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको उनकाे भनाइ छ।‘हाम्रो देशमा एक वर्ष अघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ। यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो। यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु, ‘ शुभकानमा सन्देशमा लेखिएकाे छ।नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको बताए। नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको उनले उल्लेख गरेका छन्। देशको रणनीतिक महत्त्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेकाले राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अपनाउनुपर्ने उनकाे माग छ।‘यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ। भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ। त्यसले गर्दा द्वन्द्व, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन्। कतै विश्व युद्ध त हुने होइन भन्ने आशङ्का देखिन थालेको छ। हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ। यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरूलाई अघि बढाउनु पर्ने चुनौतीपूर्ण आवश्यकता हाम्रा सामु छन्, ‘ नेता खनालले लेखेका छन्।देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्वासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगीकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथि देखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने जिम्मेवारी नयाँ गठबन्धन सरकारको काँधमा आएको उनले स्मरणसमेत गराएका छन्।

