काठमाडौँ । सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको “डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१” बाट पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सम्मानित गरेको छ। असोज १ गते चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैतडी जिल्लाको कुर्कुटिया गाउँमा १९९६ साल फागुन ३ गते जन्मेका चन्दले चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । नेपाली राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मात्र नभई साहित्यिक जगतमा पनि उनी बहुमुखी प्रतिभाका धनी हुन् ।
साहित्य क्षेत्रमा “श्रीलोचन” नामले परिचित चन्दले आफ्नो लेखन यात्रामा तेह्र ओटा साहित्यिक कृतिहरू लेखेर नेपाली साहित्यलाई समृद्ध बनाएका छन् । उनको ‘विसर्जन’ कथा संग्रहलाई २०५४ सालमा मदन पुरस्कारबाट सम्मानित गरिएको थियो। नेपाली भाषा, साहित्य र समाजको उत्थानमा उनको निरन्तर योगदानलाई कदर गर्दै यसपटक डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार प्रदान गरिएको जनाइएको छ ।