काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो वाईफाई एक्सप्रेस सेवाका लागि देशभर हटस्पटको सङ्ख्या ३० हजार पुर्याउने भएको छ । कम्पनीले सन् २०२४ सम्म ‘माई वर्ल्डलिङ्क वाईफाई’ तथा ‘फ्रि वर्ल्डलिङ्क वाईफाई’ नेटवर्कको पहुँच दोब्बरले विस्तार गर्ने भएको हो ।
वाईफाई एक्सप्रेसको ‘फ्रि वाईफाई’ उपलब्ध हटस्पटमा अनलिमिटेड डेटा चलाउन मिल्ने छुट्टै सशुल्क प्याकेज ल्याएको छ । जसमा एक दिनका लागि २० रुपैयाँ, तीन दिनको ४० रुपैयाँ, सात दिनका लागि ८० रुपैयाँ र १५ दिने प्याकेजका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तो अनलिमिटेड वाईफाई प्याकेज लिने ग्राहक कम्पनीको हटस्पट कभरेज भएका स्थानमा पुग्दा स्वतः वाईफाई कनेक्ट हुने छ । यतिसम्म कि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा समेत वाईफाई एक्सप्रेस राउटरहरू राखिएकाले यात्राका क्रममा नियमित वाईफाईको लाभ लिन सकिने लिमिटेडले जनाएको छ ।