काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६ ५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्यो । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका हुन् ।उनले अविजित १०४ रन जोडे ।
यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।