गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार प्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । “एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ”, प्रमुख क्षेत्रीले भने, “इतिहासको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पदयात्रा कार्यक्रमको आयोजना गरिएको हो ।”

दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो । पृथ्वीनारायण शाहले खडा गरेको तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणको झण्डासमेत बोकेर सेनाले बोकेको छ ।

सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो । गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here