काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् ।
पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए ।