काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरिनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय तहमा दिवस मनाउने गरिन्छ ।