काठमाडौं- सत्तारूढ गठबन्धनका राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्। सोमबार राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताएका हुन्। उनले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्दै कानुनअनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताए।उनले राष्ट्रियसभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने बताए।उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताए । उम्मेदवार दाहालले भने, ‘विशेषगरी अहिले तत्काललाई केही विधेयकहरू पास गर्नु छ। कानुनहरू बनाउनु छ। त्यस विषयमा गम्भीरताका साथ छलफल पनि भइराखेकै छ। पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ। समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ। त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुनसक्छन् ।त्यसमा सबै राजनीतिक दलहरुसँग मिलेरै एकतावद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ। म कुनै पार्टीबाट आएको होइन, कानुनी रूपमा त्यो छ। यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसें। पार्टीको बीचमा म बसेको छैन नि। पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन। कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रूपमा तयार छु। त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन।’

उनले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here