काठमाडौँ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ । यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ ।

अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि विभागले हालै तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ । वाकिटकीको प्रयोग गर्दा अनुमति लिने प्रक्रिया झन्झटिलो भएकाले अधिकांशले अनुमति नलिई प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।

सूचना विभागअन्तर्गत प्रसारण शाखाका निर्देशक डा सुवोध नेपाल पनि नेपालमा वाकिटकीको प्रयोगका लागि अनुमति प्रक्रिया सहज नभएको स्वीकार्छन् । ‘अनुमतिबिना वाकिटकी प्रयोग गर्न पाइँदैन । यसका लागि केही प्रक्रिया पूरा गरेपछि मात्रै अनुमति पाउने व्यवस्था छ तर प्रक्रिया भने लामो छ । जे भए पनि अनुमति त लिनुपर्यो नि’, उनले भने ।

निर्देशक डा नेपालका अनुसार वाकिटकीको प्रयोग सुरक्षासँग पनि सम्बन्धित भएकाले जिल्ला प्रशासन कार्यालय वा गृहमन्त्रालयलगायतको सिफारिस आवश्यक पर्ने हुँदा अनुमति प्रक्रिया लामो भएको हो ।

विसं २०७९ असोजमा वाकिटकी प्रयोगका लागि सूचना तथा प्रसारण विभागसँग अनुमति माग गरेको एक स्थानीय तहले केही समयअघि मात्रै उपकरण खरिद गर्न अनुमति पायो । स्थानीय तहको काम कारबाहीलाई चुस्त बनाउन यसको प्रयोग माग गरिए पनि झन्डै साढे दुई वर्षपछि यही फागुन १५ गते मात्रै अनुमति प्राप्त भएको हो । अब उपकरण खरिद गरेपछि विभागले प्राविधिक परीक्षण गरेपछि मात्रै त्यसको प्रयोग गर्न पाउने विभागको पत्रमा भनिएको छ ।

वाकिटकीको प्रयोग कानुनी रूपमा सहज नभएको लामो समयदेखि वाकिटकीको व्यवसाय गरिरहेका डिकेड इन्टरनेसनलका सञ्चालक विवि ढकाल बताउँछन् । उनका अनुसार वाकिटकी प्रयोगका लागि कानुन भए पनि प्रक्रिया झन्झटिलो छ । ‘विकट ठाउँहरूमा यो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो तर प्रयोगमा सहजता छैन’, ढकालले भने, ‘खासगरी पर्वतारोहण र जलविद्युत् आयोजनाका लागि यो प्रभावकारी मानिएको छ ।’

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्र, जलविद्युत्लगायत आयोजना निर्माणमा वाकिटकीको प्रयोग प्रभावकारी बनेको छ । ढकालले भनेजस्तै हिमाल आरोहण गर्नेका लागि यो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो भने जलविद्युत्लगायत आयोजनामा काम गर्नेका लागि यो एक मात्रै साधन हो ।

‘हामीकहाँ अहिले दुईवटा ‘फ्रिक्वेन्सी’मा वाकिटकीको प्रयोग भइरहेको छ । निश्चित फ्रिक्वेन्सीलाई वाकिटकीको प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने हो भने समस्या हुँदैन’, उनले भने, ‘अहिले एउटै फ्रिक्वेन्सी सुरक्षा निकायलगायत सबैले प्रयोग गर्नुपर्दा समस्या भएको हो, फ्रिक्वेन्सी छुट्याउँदा यस्तो हुँदैन ।’

वाकिटकी रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने भएकाले रेडियो यन्त्रहरूको आयात, बिक्री–वितरण, आफूसँग राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हाल सुरुमा रु दुई हजार बुझाएर वाकिटकी प्रयोग गर्न पाइन्छ भने प्रत्येक वर्ष नवीकरणका लागि रु एक हजार बुझाउनुपर्छ ।

‘वाकिटकी प्रयोगका लागि जिल्ला प्रशासन अधिकारी सीडीओ मार्फत सिफारिस लिनुपर्ने अवस्था छ तर उहाँहरूले पनि यसलाई जिल्ला सुरक्षा समितिमा छलफल गर्नुपर्ने विषय बनाएपछि कतिपय अत्यावश्यक ठाउँमा सहजै वाकिटकीको प्रयोग गर्न नपाइने अवस्था छ’, व्यवसायी ढकालले भने ।

वाकिटकीको प्रयोग मोबाइल तथा अन्य सञ्चार साधनको तुलनामा निकै सहज हुन्छ । यो छिटो र प्रभावकारी पनि हुन्छ । मोबाइलको ‘कभरेज’ राम्रो नभएको स्थानमा सञ्चार सम्पर्कका लागि वाकिटकीको विकल्प छैन ।

‘त्यति मात्रै होइन, कुनै पनि कार्यक्रम गर्नका लागि, सेक्युरिटी कम्पनी, होटल तथा रेष्टुरेन्टमा पनि यो अत्यावश्यक भइसकेको छ । सरकारले यसको प्रयोगसम्बन्धी कार्यविधिमा सहजीकरण गर्ने हो भने यसबाट धेरैले लाभ लिन सक्छन्’, जानकारहरूले भन्ने गरेका छन् । अझ विपद्को समयमा सञ्चारका लागि वाकिटकी सबैभन्दा प्रभावकारी साधन बनेको विभिन्न घटनाक्रमले पुष्टि गरेको ढकालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here