काठमाडौँ । यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानुनी कारबाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।

भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । उनले मालवाहक सवारी दुर्घटना पश्चात् हुने क्षतिका लागि राहतकोष स्थापना गर्न समेत माग गरेको बताए ।

त्यस्तै यातायात व्यवसायीहरूले सडक तथा पुलहरूको निरीक्षण र मर्मत गर्नुपर्ने र गृह मन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनीकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरूले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here