काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शुक्रबार इन्भेस्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गर्‍यो । बोर्डले जारी गरेको सूचनाअनुसार ५ करोड भन्दा बढी चुक्ता पुँजी भएका वा पाँच करोडभन्दा कम चुक्ता पुँजी भए पनि १० करोड रुपैयाँ भन्दा धेरै कारोबार भएका कम्पनी बोर्डमा सूचीकरण हुन अनिवार्य गरिएको छ ।

यो प्रावधान सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा भएको व्यवस्था अनुरूप गरिएको बोर्डले जनाएको छ । सम्पत्ति पुस १८ गते नेपाल राजपत्रमा प्रकाशन गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको संशोधनमार्फत यस्तो व्यवस्था गरेको थियो । यस अनुसार बोर्डले पुस मसान्तदेखि नै सूचीकरण प्रक्रिया अघि बढाउनुपर्ने भए पनि ढिलो गरी सूचना प्रकाशन गरेको हो ।

यद्यपि यो व्यवस्थाभित्र आफैँमा लुपहोल देखिएको छ । धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्ने उद्देश्यले कम्पनी रजिस्ट्रार कार्यालयमा ‘इन्भेस्टमेन्ट कम्पनी’को रूपमा दर्ता भएका कम्पनीलाई मात्रै सूचीकरण गर्ने र यस्ता कम्पनी मात्रै सूचीकरण हुनुपर्ने उल्लेख गरेको छ ।

तर, शेयर बजारमा लगानी गर्न इन्भेस्टमेन्ट कम्पनीकै रूपमा दर्ता हुन पर्दैन । बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बीमा कम्पनी, टेलिकम कम्पनीहरू मात्रै नभएर अन्य विभिन्न प्रयोजन र उद्देश्यसहित खुलेका कम्पनीले पनि शेयर बजारमा लगानी गर्न पाउँछन् ।

ती कम्पनी बोर्डमा दर्ता हुन नपर्ने बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् । ‘इन्भेस्टमेन्ट कम्पनीको रूपमा मुख्य उद्देश्य भएका कम्पनी मात्रै हाम्रो नियमनको दायरामा हुन्छन्, त्यही अनुसार नियमन हुन्छ’ घिमिरे भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here