काठमाडाैं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौँथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।
बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।