काठमाडौँ । नेकपा माओवादी केन्द्र काेशी प्रदेश सरकारबाट बाहिरिने भएकाे छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका भाैतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताए।`दलका नेताले आज सरकार छाेड्न भन्नुभएकाे छ । उहाँ आउँदै हुनुहुन्छ । त्यसपछि राजीनामा पत्र बुझाउँछाैं,´ उप्रेतीले भने ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो । केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् । संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।