काठमाडौं । नेपाली यू१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू १९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।
नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५=४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।
बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २ २ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ । अफगानिस्तान पनि बाहिरिसकेको छ ।