काठमाडौँ । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार २.११ अंकले बढ्दै नेप्से सूचक २९ सय ६८.४४ विन्दुमा उक्लिएको हो । आइतबार नेप्से सूचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ विन्दुमा झरेको थियो । 

आइतबार २८ अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम भने झण्डै १० अर्ब रुपैयाँले घट्दै १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।सोमबार र मंगलबार बिदा भएकाले सेयर कारोबार पनि बन्द रहेको थियो । 

बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । बुधबार एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकले समान १० प्रतिशतले गुमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here