काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् ।
एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् ।
२०७९ माघ २६ मा मुख्यमन्त्री बनेका शाहले राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ मा पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै सत्तामा फर्किएका हुन् ।
शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एकजना मन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट दुई र एमालेबाट एकजना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।कांग्रेसका मेघराज खड्काले सामाजिक विकासमन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिलामन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।
कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।
मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले सोमबार नै पदभार ग्रहण गर्नेछन् ।