काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्ने भएको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो ।
संघका अनुसार थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको छ । सम्मेलन १५ –१६ मार्च २०२५ मा हुने तय भएको संघले जनाएको छ ।
यस्तै १८–१९ मार्च २०२५ मा कम्बोडियाको नामपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामाकरण गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको अवस्थामा युवा सम्मेलन गर्न लागिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो विश्वयुद्ध पछि बर्मा, थाइल्यान्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा नेपाली मूलका युवाहरु पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोजेको वर्तमान अवस्थामा ‘इम्पावरिङ द युथ, सेपिङ द पीएनओज् फ्युचर’ भन्ने मुल नाराका साथ युवा सम्मेलनको आयोजना गर्न लागिएको अध्यक्ष बद्री केसीले जानकारी दिए ।
‘नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ’, उनले भने, ‘सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् (नेपाली मुलका नेपाली), र नेपालका स्थानीय युवाहरू बिच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।’ सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सिम्खडाले कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।