काठमाडौं। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बचतकर्ताको घर घरमा पुगेर भड्काउने कार्य गरेको जनाएको छ ।

संघर्ष समितिले अनुसन्धानलाई प्रभाव पार्ने कार्यक्रम दिनँहु गरिएको र रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेट्ने र पिट्ने कार्य गरेको बुधबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै संघर्ष समितिले बचतकर्तालाई न्याय दिने कार्यमा नलागि सभापति रवि लामिछाने बचाउमा लागेको विज्ञप्ति मार्फत जनाएको छ ।

रास्वपाका नेता र कार्यकर्ताले पोखराको शान्त बातावरणलाई विथोलेको संघर्ष समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । बचतकर्ता बिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण साथै टोल टोल र घर घरमा पुगि पीडित बचतकर्तालाई भड्काउने कार्य गरिएको प्रति आपत्ति जनाइएको छ ।

पीडितले विगत २ बर्षमा हार गुहार गर्दा, कैयनपटक ज्ञापन बुझाउँदा रास्वपाले सहकारी पीडितका समस्या नसुनेको संघर्ष समितिले विज्ञप्तिमा लेखेको छ ।

कैयन पटक ज्ञापनपत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर– सहयोग नभएको कुरा छर्लङ्ग छ,’ विज्ञप्तिमा भनिएको छ,‘तर आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति प्रकाउ परे तब घैंटोमा घाम लागेजस्तो देखिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here