काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना-साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको बताए ।
देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै उनले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए ।
उनले हाल जनसंख्या वृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह समेत गरे । उनले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए ।
उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले बच्चाहरु अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे ।
सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने बताए ।