काठमाडौँ । राजावादी दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपालले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजधानीको भृकुटीमण्डपमा ३०३ औँ पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहिँ बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा चियापन कार्यक्रमको आयोजना गरेका छन् ।

चियापानको दिन नजिकिँदै जाँदा दुबै पार्टीका अध्यक्षले राजनीतिक दलका नेताहरूलाई भेटेर निम्तापत्र बाँडिरहेका छन् । निम्तापत्र बाँड्ने नाममा दुबै अध्यक्ष नेताहरूलाई भेटेर राजनीतिक सम्बन्ध सुधारको प्रयास गरिरहेको राप्रपाका नेताहरू बताउँछन् ।

सोही अनुसार मंगलबार लिङ्देन २७ गतेको कार्यक्रममा सहभागिताका लागि निम्तोपत्र दिन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । देउवालाई निम्तापत्र दिन लिङदेनसहित महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ बूढानिलकण्ठ पुगेका थिए । लिङ्देन देउवालाई अन्य कुनै राजनीतिक उद्देश्यले भन्दा पनि निम्तापत्र हस्तान्तरण दिनकै लागि गएको र सोही क्रममा फोटो खिचाइएको एक नेताले बताए । यद्यपि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने देउवासँग भेटवार्ता भएको र समसामयिक विषयमा कुराकानी भएको सामाजिक सञ्जालमार्फत बताएका थिए ।

राप्रपाकै कतिपय नेताहरू अहिले भइरहेका भेटवार्ता ‘कार्ड पोलिटिक्स’को रुपमा टिप्पणी गर्छन् । ‘कार्ड लिएर जाने र सोही क्रममा नेताहरूलाई भेटेर सम्बन्ध सुधारको प्रयास बाहेक अरु केही होइन’ एक नेताले भने । अहिले देउवासँग लिङ्देनको भेटवार्ताको फोटो बाहिर आएको तर अन्य नेताहरूलाई पनि लिङ्देनले भेटिरहेको र थप भेट्ने योजना रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here